नेपालमा घरेलु हिंसा
This post is also available in: English
नेपालमा घरेलु हिंसाको विरूद्धमा वकालत गर्ने कानून व्यवसायी
घरेलु हिंसाको आरोप संवेदनशील आरोप हो । यदि तपार्इलाइ घरेलु हिंसाको आरोप लाग्यो भने डिभोर्स नेपालका कानून व्यवसायीहरूले तपार्इको उचित प्रतिरक्षा, कानूनी हकअधिकार, उपचार र विकल्पको विषयमा आवश्यक परामर्श र सेवा दिनुहुन्छ । डिभोर्स नेपालको सम्पर्क नम्बर ९७७ ९८५१२१२९४६ हो ।
१ ) घरेलु हिंसा भनेको के हो ?
घरेलु हिंसालाइ नेपाली कानूनहरूले देहायबमोजिम परिभाषित गरेका छन् ।
घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ को दफा २(क) मा घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनु पर्छ भनि व्याख्या गरिएको छ।
“घरेलु सम्बन्ध” भन्नाले बंशज, विवाह वा धर्मपुत्र वा धर्मपुत्री भएको वा संयुक्त परिवारको सदस्य, आश्रित वा कामदारको रुपमा एकै परिवारमा बसेका व्यक्तिहरुका बीचमा भएको सम्बन्ध सम्झनु पर्छ ।र सो शब्दले सँगै बसेका जोडी वा अंश लिर्इ वा नलिर्इ भिन्न बसेका पति वा पत्नीको सम्बन्ध समेतलार्इ जनाउँछ।
उजुरी गर्ने(घरेलु हिंसा (कसूर र सजाय) ऐन २०६६ दफा ४ (१) अनुसार घरेलु हिंसा भएको, भैरहेको वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले सो सम्बन्धी विवरण खुलार्इ प्रहरी कार्यालय वा राष्ट्रिय महिला आयोग वा स्थानिय तह समक्ष लिखित वा मौखिक उजुरी दिन सक्नेछ।
यसरी घरेलु हिंसा हुन पारिवारिक सम्बन्ध भएका कम्तीमा दुर्इ जना सदस्य सहभागी भएको हुनुपर्दछ । जबरजस्ती, दुर्व्यवहार, सजाय, त्रास वा बदलाको भावको सम्बन्ध भएको कारणबाट अधिकांश घरेलु हिंसा हुन पुग्दछ ।
घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ अनुसार हिंसाका प्रकार
१. शारीरिक हिंसा/यातना
शारीरिक यातना भन्नाले कुटपिट गर्ने, गैर कानूनी थुनामा राख्ने, शारीरिक चोट पुर्याउन, तेजाव वा यस्तै प्रकारका अन्य पदार्थ छर्किइ वा सो पदार्थले पोली, डामी, दल, घसी जीउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अंग कुरूप पारिदिने वा यस्तै काम गर्ने वा गराउने कार्य सम्झनु पर्दछ । (दफा२(ग))
२. मानसिक हिंसा/यातना
मानसिक यातना भन्नाले शारीरिक यातनाको डर धाक देखाउने वा धम्की दिने, त्रासपूर्ण व्यवाहर गर्ने, गालीगलौज गर्ने, झुट्टा बात लगाउने, घरबाट निकाला गर्ने, वैचारिक, धार्मिक, साँस्कृतिक, प्रथा परम्पराका आधारमा अपमानित गर्ने, मानसिक सन्तुलन गुमाउने, आत्महत्या गर्न दुरूत्साहन दिने वा आत्महत्या गर्ने परिस्थिति खडा गर्ने हदसम्मको कार्य सम्झनुपर्दछ र सो शब्दले मानसिक वा भावानात्मक चोट पुग्न सक्ने अन्य कुनै काम समेतलार्इ जनाउँछ।(दफा २(घ))
३. यौनजन्य हिंसा/यातना
यौनजन्य हिंसा/यातना भन्नाले यौनजन्य प्रकृतिको दुर्व्यवहार, अपमान, हतोत्साह वा आत्मसम्मानमा चोट पुर्याउने वा सुरक्षित यौन स्वास्थ्यमा आघात पुग्ने कुनै पनि कार्य सम्झनुपर्छ । (दफा२(ङ))
४. आर्थिक हिंसा/यातना
आर्थिक हिंसा/यातना भन्नाले सगोल वा निजी सम्पत्तिको प्रयोग गर्न वा रोजगारी वा आर्थिक स्रोत साधनको पहुँच वा प्रयोगमा वञ्चित गर्ने कार्य सम्झनुपर्छ र सो शब्दले महिलाको हकमा दाइजो माग गर्ने, दाइजो ल्याउन दबाव दिने वा दाइजो नल्याएको कारणबाट गरिने घृणा, हेला वा तिरस्कार समेतलार्इ जनाउँछ। (दफा २(च))
घरेलु हिंसा मुद्दा पतिले हाल्न मिल्छ कि मिल्दैन
घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ ले नजीकको नाताले शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना दिएमा घरेलु हिंसा हुने भनि व्याख्या गरिएको छ । यस अनुसार यदि पत्नीले पतिलार्इ कुटपिट गरेमा, घरबाट निकालेमा पतिले पत्नीलाइ घरेलु हिंसामा मुद्दा हाल्न मिल्दछ ।
घरेलु हिंसा भएमा कुन ठाउँमा उजुरी गर्ने
घरेलु हिंसा भएको, भैरहेको वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले हिंसा गरेको विवरण खुलाई निम्न कार्यालयमा उजुरी गर्न सकिन्छ । यसमा पीडितले मात्र उजुरी गर्नुपर्छ भन्ने छैन ।
क. नजीकको प्रहरी कार्यालय
ख. राष्ट्रिय महिला आयोग
ग. नगरपालिका वा वडा कायर्लयमा अर्थात स्थानीय तह
घ. जिल्ला अदालत
घरेलु हिंसाको को उजुरी प्रक्रिया
१. लिखित र मौखिक रूपमा उजुरी गर्ने
परिवारमा घरेलु हिंसा भएमा जो कसैले पनि लिखित रूपमा अथवा मौखिक रूपमा नजिकको प्रहरी कार्यालयमा वा नगरपालिकामा उजुरी गर्न सकिन्छ । प्रहरी कार्यालयमा उजुरी गरे पश्चात प्रहरीले आफैले लेखी अथवा लेखाई उजुरीकर्ताको सहीछाप गराई दर्ता गर्ने गर्दछ । यदि पीडकले अङ्ग भङ्ग हुने गरी कुटपिट गरेमा वा तेजाब वा यस्तै प्रकारका अन्य पदार्थ छर्किइ वा सो पदार्थले पोली, डामी, दली, घसी जीउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनैअंग कुरुप पारिदिने गरी भएको शारीरिक यातना वा यौनजन्य यातना सम्बन्धी घरेलु हिंसाको कसूर गरेमा कानून बमोजिम नजीकको प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिन सक्नेछ ।
२. पीडकलाइ झिकाउने
उजुरी पश्चात उजुरी सुन्ने कार्यालयले चौबीस घण्टाभित्र पीडक अथवा हिंसा गर्ने व्यक्तिलाई झिकाई र अटेर गरे पक्राउ गरी तुरुन्त बयान गराउने गर्दछ ।
३. पीडितलाई उपचार गराउने
घरेलु हिंसाको कारण पीडितलाई कुनै शारीरिक चोटपटक वा मानसिक यातना पुगेको देखिएमा तत्काल उपचारका लागि नजीकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पठाई निजको उपचार र घाउ जाँच गराउनु पर्दछ ।
४. मेलमिलापको पहल गर्ने
प्रहरी कार्यालय वा वडा कार्यालयले यदि पीडितले मेलमिलापको चाहना गरेमा दुबै पक्षलार्इ बोलाएर मेलमिलापको लागि पहल गर्नु पर्दछ ।
५. अदालतमा पठाउने
प्रहरी कार्यालय वा नगरपलिकामा उजुरी दर्ता गरेपश्चात दुबै पक्ष बीच मेलमिलाप हुन नसकेमा उजुरीकर्ताको सहमतिमा घरेलु हिंसासँग सम्बन्धित प्रमाण उल्लेख गरी सम्बन्धित जिल्ला अदालतमा मुद्दा गर्नुपर्दछ ।
६. अन्तरिम संरक्षणात्मक आदेश जारी गर्न सक्ने
यदि पहिलो हेराइमा नै घरेलु हिंसा प्रमाणित भएमा अदालतले अन्तरिम संरक्षणात्मक आदेश जारी गर्न सक्छ । यस्तो आदेशले दोषीलाइ थप घरेलु हिंसा गर्नबाट बचाउँछ । साथै अदालतको आदेशले पीडकका लागि वैकल्पिक बसोबासको व्यवस्था उपलब्ध गराउँछ ।
७. क्षतिपूर्ति पाउने
घरेलु हिंसाबाट पीडित व्यक्ति मानसिक वा शारीरिक रुपमा अशक्त भएको कारणले अस्पतालमा उपचार गराउनु परेमा र उपचार गराउदा खर्चभएको रकम क्षतिपूर्ति बापत पीडितलाइ दिलार्इ दिनु पर्दछ । पीडित व्यक्तिलाई घरेलु हिंसाको प्रकृति, मात्रा, पीडितलाई पुगेको पीडा र पीडक तथा पीडितको आर्थिक तथा सामाजिक हैसियत समेतलाई विचार गरी अदालतले पीडकबाट मनासिव माफिकको क्षतिपूर्ति भराइदिन सक्नेछ ।
८. सजाय गर्ने
अदालतले कसैलाइ घरेलु हिंसा सम्बन्धी कसूर गरेमा त्यस्तो व्यक्तिलाई सजाय हुनेछ । घरेलु हिंसा गरेमा त्यस्तो व्यक्तिलाई तीन हजार रुपैया देखि पच्चीस हजार रुपैया सम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ । त्यस्तै घरेलु हिंसाको उद्योग वा दुरुत्साहन गर्ने वा मतियार हुनेलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।