पतिले सम्बन्ध विच्छेद गर्ने अवस्था
This post is also available in: English
सम्बन्ध विच्छेद के हो ? कस्तो अवस्थामा पतिले सम्बन्ध विच्छेद गर्न सक्दछन् ?
सम्बन्धविच्छेद भनेको श्रीमान श्रीमती बीचको बैवाहिक नाता सम्बन्ध कानूनी रूपमा अन्त्य हुनु हो । नेपालमा सम्बन्ध विच्छेदको प्रावधान प्राचीन समय देखि नै रहेको पाईन्छ । औपचारिक रूपमा भने वि.सं. १९१० को मुलुकी ऐनमा यस सम्बन्धी व्यवस्था रहेको थियो । उक्त व्यवस्था नयाँ मुलुकी ऐन २०२० मा पनि गरी लागु गरिएको थियो । २०७४ साल सम्म महिलाले मात्र सिधै अदालतमा सम्बन्धविच्छेदको लागि निवेदन दिन पाउने व्यवस्था रहेकोमा मुलुकी देवानी संहिता २०७४ मा लागू भएपछि पुरुषले पनि सम्बन्ध विच्छेदको लागि निवेदन दिन पाउँछन् ।
मुलुकी देवानी संहिता २०७४ मा सम्बन्ध विच्छेद सम्बन्धी कानूनी व्यवस्थाहरु
पतिले सम्बन्ध विच्छेद गर्न सक्नेः (दफा ९४)
Table of contents
१ ) अंश लिर्इ छुट्टिई बसेमा :-
मुलुकी देवानी संहिता २०७४ उपदफा (क) अनुसार कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा सम्बन्ध विच्छेदको लागि निवेदन दिन पार्इन्छ । यसमा पत्नीले अंश मुद्दा दिर्इ अंश लिएको हुनु पर्दछ । पत्नीले अंश लिर्इ भिन्न बसे पनि पत्नी परिवारिक पहिचान (Identity ) को लागि निरन्तर लागिपरेको र निजको दायित्व निर्वाह गरेको छ भने त्यस्तो अवस्थामा अंश लिइ छुट्टिई बसेको भनी व्याख्या गर्न नमिल्ने सर्वोच्च अदालतले किरण राणा विरूद्ध पुरण शमशेर ज.ब.रा.भएको सम्बन्ध विच्छेद मुद्दामा ने.का.प २०७५ नि.न ९९९९ नजीर प्रतिपादन भएको छ । उक्त मुद्दामा पत्नी किरण राणाले घर परिवारको (सासु र बालबच्चाको) जिम्मा लिई घरमा बस्दा घरको आर्थिक व्यवहार मिलाउनका निम्ति अंश लिन सक्ने तर परिवारिक पहिचान (Identity) र सामाजिक संस्कारको निम्ति सम्बन्ध विच्छेद नगरी बस्न सक्ने हुन्छ भनी ब्याख्या गरेको छ । यसरी नजीरबाट अंश लिइ छुट्टिई बसेको भएर पनि परिवारिक पहिचान (Identity) निरन्तर कायम राखेको र सासु ससुरालार्इ पालेको अवस्थामा अंश लिइ छुट्टिई बसेको भन्न मिल्दैन । अर्कोतर्फ कृष्ण शेरचन विरुद्ध पदमकुमारी शेरचन भएको सम्बन्ध विच्छेद मुद्दामा ने.का.प २०६७ नि.न ८४८७ अंश मुद्दा दायर गरी अंश पाउने फैसला प्राप्त गरेपश्चात् आफूले पाउने भाग आफ्ना नाममा दर्ता समेत गरिसकेको अवस्थामा आर्थिक रुपमा अब पतिसँग पूर्णत भिन्न भै उनीसँग सरोकार नभएको र विगत २२ वर्षदेखि आफूखुशी माइतीमा बसेको अवस्थामा पारिवारिक पहिचानको लागि वैवाहिक सम्बन्धको निरन्तरता कायम गर्ने भन्ने जिकिर उचित नदेखिने भनी सम्बन्ध विच्छेद हुने फैसला गरेको छ ।
२) अलग बसेमा
तीन बर्ष भन्दा बढी समय छाडी अलग रहेमा सम्बन्ध विच्छेद हुन्छ भन्ने प्रावधान संसार भरी प्रचलनमा छ । भारतमा Marriage Act 1955 section 13 clause (ib) subsection (1) ले कुनै कारण,समझदारी वा इच्छा विनानै पत्नीले पतिलार्इ छोडेर गएमा पतिले सम्बन्ध विच्छेदको लागि निवेदन दर्ता गर्न सक्छ । यो प्रावधानलार्इ संसारभरी अपनाईएको छ । त्यस्तै Halsbury law of England 3rd edition vol 12 page 243 defines ” In its essence desertion means the intentional permanent forsaking and abandonment of one spouse by the other without other consent and without reasonable cause ” यसरी विना कारण विना मन्जुरी घरबाट निक्लेको र कुनै कारण विनानै घरबाट टाढा रहेको र घर फर्कने असल प्रयास Bona fide attempt नगरेको हुनु पर्छ भन्ने छ । मुलुकी देवानी संहिता २०७४ को दफा ९४ को उपदफा (क) बमोजिम पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा पतिले सम्बन्ध विच्छेदको लागि निवेदन दिन सक्छन् । विदेशमा रोजगारीको लागि गएको अवस्थामा पतिको मञ्जुरी नलिई बाहिर बसेको भन्न मिल्दैन । त्यस्तै सर्वोच्च अदालतले किरण राणा विरूद्ध पुरण शमशेर ज.ब.रा.भएको सम्बन्ध विच्छेद मुद्दामा ने.का.प २०७५ नि.न ९९९९ श्रीमान्ले नै घर छाडी अलग बसेको र श्रीमतीले आपसी समझदारी बढाउन घर परिवारलाई नै हेरी बसेको अवस्थामा पत्नीले पतिको मञ्जुरी नलिई अलग बसेको भन्न मिल्दैन भनी व्याख्या भएको छ । आमा, छोरा, छोरी र श्रीमतीको रक्षा-शिक्षाको जिम्मेवारीबाट उम्की घरै छोडी हिँड्ने लोग्नेले आफ्नी श्रीमतीसँग निजको मन्जुरी नहुँदा नहुँदै पनि सम्बन्ध विच्छेद गर्न पाउँछ भन्ने कानुनी मनसाय नरहेको उल्लेख छ ।
३ घरबाट निकाला गरेमा
नेपालको कानूनले पतिले पत्नीलाई आफ्नो इज्जत आमद अनुसार खान लाउन दिनुपर्ने कानूनी दायित्व सृजना गरेको छ । हिन्दू रीति रिवाज जिजीविषाको The principle of sustenance अनुसार लोग्नेले आफ्नो हैसियत अनुसार पालन पोषण गर्नुपर्दछ । उक्त दायित्व लाई प्रमूख दायित्व को रुपमा लिइन्छ । नेपाल पितृसत्तामक देश भएको र पतिले नै पत्नीलार्इ पालन पोषणा गर्नु पर्छ भन्ने छ । यदि पति रोगी, कमाई नभएको ,असक्षम भएको र पत्नीले घर व्यवाहार चलाएको अवस्थामा यदि पत्नीले पतिलाई खान लाउन नदिई बिचल्ली गरी घरबाट निकाला गरेमा पतिले सम्बन्ध विच्छेदको लागि निवेदन दिन सक्छ ।
४. शारीरिक वा मानसिक कष्ट दिएमा
नेपाल लगायत संसारको सबै मुलुकमा शारीरिक कष्ट वा मानसिक कष्ट लाई सम्बन्ध विच्छेदको प्रमुख आधारको रुपमा लिइएको छ । मुलुकी देवानी संहिता २०७४ मा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्टको स्पष्ट व्याख्या गरिएको छैन । यस सन्दर्भमा हामीले विदेशी नजीर र कानूनको सिद्धान्त हेरी व्याख्या गर्नु पर्दछ । बेलायतको la Brocq Vs la Brocq (1964) 3 All ER 464 र भारतको सर्वोच्च अदालतले प्रतिपादन गरेको नजिर Distane vs Distane AIR 1975 SC 1534 र V Bhagat Vs D Bhagat AIR 1994 SC 710 ले मानसिक कष्टको स्पष्ट ब्याख्या गरेको छ । यी नजरमा अदालतमा मुद्दाको तथ्यले मानसिक कष्टको निर्धारण निर्धारण गर्दछ भन्ने उल्लेख छ । मानसिक कष्टको मापन व्यक्तिको अथक सामाजिक हैसियतले समेत निर्धारण गर्छ भन्ने कुरा भारतको कर्नाटक राज्यको उच्च अदालतले प्रकाशन गरेको नजिर श्रीकान्त बि. मनचन्द« ए.आइ.आर १९८० कर्नाटक ८ ले व्याख्या गरेको छ । उक्त मुद्दा अनुसार , कष्टलार्इ मानसिक कष्टका रूपमा र मानसिक कष्टलार्इ समाजको मानसिकताको मूल्यमा व्याख्या गर्नुपर्दछ । त्यसैले कुनैपनि कानून वा व्यवहार कष्ट हो वा होइन भन्ने कुरा मुद्दाका पक्षको चरित्र, जीवनयापनका तरिका, चालचलन र व्यवहारमा भर पर्दछ ।V Bhagat Vs D Bhagat मुद्दामा मानसिक कष्टको अवस्थाको राम्रो व्याख्या गरेको छ । उक्त मुद्दा अनुसार मानसिक कष्टलार्इ आचरण वा मानसिक पीडाको रूपमा व्यापक रूपमा परिभाषित गरिएको छ। यसमा दुवै पक्ष एक अर्कासँग बस्न सम्भव छैन भनिएको छ । मुद्दाको थप व्याख्या यसप्रकार छ।
१.मानसिक कष्ट त्यस्तो प्रकृतिमा हुनुपर्दछ जहाँ पक्षहरू सँगै बस्ने अपेक्षा गर्न सक्दैनन् ।
२. मानसिक कष्टको अवस्था त्यस्तो हुनुपर्दछ की जसमा एउटा पक्ष अर्को पक्ष सँगै रहेर बाँच्न सक्दैन ।
३.मानसिक कष्ट भए नभएको निष्कर्षमा पुग्नका लागि पक्षहरूको समाजमा प्रवेश गर्ने सामाजिक एवं शैक्षिक स्तर हेर्नुपर्छ ।
४. मुद्दाका पक्षहरू संभावित शंका भन्दा बाहिर मात्र संतुष्ट रहन्छन् ।
मानसिक कष्टको कारणले श्रीमान श्रीमती भई बस्न नसक्ने अवस्था सृजना भएको हुनु पर्ने र यसमा गल्ती गर्न पक्षले समेत फेरी सँगै बस्दछौ भनि प्रस्ताव गर्न नसक्ने हुनुपर्दछ । सम्बन्ध विच्छेदको निणर्यमा पुग्नु अघि अदालतले तिनीहरुको सामाजिक शैक्षिक हैसियत र तिनीहरुको जीवन परिवेशलाई समेत विचार गर्नुपर्छ र निज माथि भएको मानसिक कष्ट शंकारहित रुपमा स्वीकार समेत गर्न पर्छ ।
५. अन्य पुरुषसँग यौन सम्बन्ध राखेमाविवाहइतरको सम्बन्ध लाई प्राचीन समयमा अपराधको रुपमा लिने चलन थियो । नेपाल लगायत संसारको अन्य मुलुकमा समेत यदि श्रीमतीले श्रीमानसँग बाहेक अन्य व्यक्तिसँग शारीरिक सम्पर्क राखेमा पतिले सम्बन्ध विच्छेदको लागि निवेदन दिन सक्दछन । सम्बन्ध विच्छेदको लागि श्रीमतीको अन्य व्यक्तिसँग शारिरिक सम्पर्क भएको हुनु पर्दछ । अन्यथा श्रीमतीले आफ्नो इच्छाले उक्त कार्य गरेको हुनु पर्दछ । अदालतमा पत्नीको अन्य ब्यक्तिसँग शारीरिक सम्पर्क भएको भन्ने स्पष्ट प्रमाण र यदि अन्य प्रमाणले पनि सहबास भएको प्रमाणित गर्यो भने पतिले सम्बन्ध विच्छेद गर्न सक्दछ ।