सम्बंन्ध विच्छेमा संम्पत्ति
This post is also available in: English
सम्बन्ध विच्छेदमा सम्पत्ति कसरी भाग लगार्इन्छ?
पत्नीले सम्बन्ध विच्छेद गर्दा निजले कानून बमोजिम पाउने अंश लिएर सम्बन्ध विच्छेद गर्न पाउछन् । यदि आपसी सहमतिमा मिलापत्र मार्फत सम्बन्ध विच्छेद हुन नसकेमा देवानी संहिता २०७४ को दफा ९९ बमोजिम अशंबण्डा गराउनु पर्ने हुन्छ । सम्बन्ध विच्छेद गर्नु अघि कस्तो सम्पत्ति विभाजन हुन्छ र कस्तो सम्पत्ति विभाजन हुँदैन भनेर जानकारी लिनु पर्ने हुन्छ ।
Table of contents
सम्पत्ति कति किसिमको हुन्छ
देवानी संहिंता २०७४ को दफा २५५ मा देहायका ७ किसिमक सम्पत्तिहरू उल्लेख गरिएको छ ।
१.निजी सम्पत्ति,
२. सगोलको सम्पत्ति,
३. संयुक्त सम्पत्ति,
४. सामुदायिक सम्पति,
५. सार्वजनिक सम्पत्ति,
६. सरकारी सम्पत्ति,
७. गुठीको सम्पत्ति ।
सम्बन्ध विच्छेद प्रक्रियामा कस्तो प्रकारको सम्पतिको बाँडफाँड गरिन्छ?
सम्बन्ध विच्छेद पछि सामान्यतया सगोलको सम्पत्ति र संयुक्त सम्पत्तिको भागबण्डा हुने गर्दछ।
क) सगोलको सम्पत्ति:–
देवानी संहिता २०७४ को दफा २५७ बमाजिम सगोलको सम्पत्ति भन्नाले देहायका सम्पत्तिहरू बुझिन्छ ।
१) पुर्ख्यौलीबाट प्राप्त सम्पत्ति: पुर्ख्यौली सम्पत्ति भन्नाले बाबु बाजेले आर्जन गरेर छोडेको सम्पत्ति भन्ने बुझिन्छ ।
२) निजी सम्पत्तिबाहेक अंशियारको नाममा रहेको अन्य सम्पत्ति,
३) अंशियारले सगोलको खेती, उद्योग, व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे बढाएको सम्पत्ति,
४) कानूनबमोजिम भिन्न भएकोमा बाहेक पति वा पत्नीले कमाएको वा त्यसबाट बढे बढाएको सम्पत्ति
ऐनको दफा २५७ को उपदफा ४ बमोजिम छोरा छोरीलाई बाबु आमाले कमाएको सम्पत्ति पनि सगोलको हुन्छ । छोरा छोरीलाई बाबुआमाले निजी रुपमा कमाएको सम्पत्ति सगोलको बण्डा लाग्ने हुनाले उक्त सम्पति बुहारीलाई पनि बण्डा लाग्छ । अर्थात सासुले माइतिबाट ल्याएको अथवा निजी रुपमा आर्जनगरि कमाएको सम्पत्ति छोरा बुहारीलाई बण्डा लाग्दछ ।
(ख) संयुक्त सम्पत्ति –
देवानी संहिता २०७४ को दफा २५८ बमाजिम दुई जना पति पत्नीको नाममा रहेको रहेको त्यसबाट बढाएको सम्पत्तिलाई संयुक्त्त सम्पत्ति भनिन्छ । संयुक्त सम्पत्ति अन्तर्गत पति पत्निले मिलेर व्यापार व्यवसायगरी बढाएको सम्पत्ति पनि सगोलको सम्पत्ति अन्तर्गत पर्दछ । सगोलमा कमाएको सम्पत्ति पति पत्नी दुबै बीच बराबर बण्डा हुन्छ ।
सम्बन्ध विच्छेदमा कस्तो प्रकारको सम्पत्ति बाँडफाँड हुदैन?
अधिकांश महिलाहरू सम्बन्ध विच्छेद गर्दा आफूसँग भएको सम्पत्तिमा पनि बण्डा लाग्दछ भनेर चिन्तित हुन्छन् । तर कानून अनुसार महिलाहरुको निजी सम्पत्तिमा अशंबण्डा लाग्दैन । नेपालको कानूनले निजी सम्पत्तिलाइ देहायबमोजिम उल्लेख गरेको छ ।
निजी सम्पत्ति –
देवानी संहिता २०७४ को दफा २५६ मा कुनै व्यक्तिको नाममा रहेको देहायका कुनै सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्ति त्यस्तो व्यक्तिको निजी सम्पत्ति हुने उल्लेख छ।
क ) आफ्नो ज्ञान, . सीप वा प्रयासबाट आर्जन गरेको सम्पत्तिः – आफ्नो ज्ञान सीप भन्नाले निजको जागीर र सीप भन्नाले निजको बिशेष चिजमा रहेको बिशेष ज्ञानलाई लिने गरिन्छ । यसरी श्रीमतीले ज्ञान शिपले आर्जनगरी कमाएको सम्पत्ति पतिलाई बण्डा लाग्दैन ।
ख) दान, बकस वा अपुताली स्वरूप प्राप्त गरेको सम्पत्ति – महिलालाई निजको बुवा आमाले, माइतिले दिएको सम्पत्ति आफ्नो श्रीमानलाई बण्डा लाग्दैन । आफ्नो नातागोतालाई कुनै घर जग्गा दिंदा बकस गरी दिने गरिन्छ । महिलालाई बुबा, आमा, दाजु भाइले दान बकस गरी दिएको सम्पत्ति बण्डा लाग्दैन । तर छोरा छोरीलाई उक्त सम्पत्ति बण्डा लाग्दछ ।
ग) चिठ्ठा वा उपहार स्वरुप प्राप्त गरेको सम्पत्ति सम्बन्ध विच्छेद गर्दा बण्डा लाग्दैन ।
घ) पारिश्रमिक, उपदान, निवृत्तभरण, उपचार खर्च ,सञ्चय कोष ,बीमा वा अन्य सामाजिक सुरक्षण बापत प्राप्त गरेको रकम निजी सम्पत्ति हुन्छ । यस्तो सम्पत्ति बण्डा हुँदैन ।
ङ) बौद्धिक सम्पत्ति वा रोयल्टी स्वरुप प्राप्त गरेको सम्पत्ति निजी सम्पत्ति हुन्छ ।
च) महिलाले विवाह पूर्व आर्जन गरेको, प्राप्त गरेको वा विवाह हुँदाका बखत माइतीबाट प्राप्त गरेको सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्ति बण्डा लाग्दैन ।
छ) महिलार्इ पति वा पतिका तर्फका सबै अंशियारहरूको मञ्जुरीले निजको एकलौटी हक हुने गरी लिखत गरीदिएको वा पति तर्फका नातेदार वा इष्टमित्रबाट प्राप्त चल वा अचल सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति बण्डा लाग्दैन ।
सम्बन्ध विच्छेदमा सम्पत्ति लिनको लागि के के गर्नु पर्दछ ।
१. बण्डा गर्नुपर्ने सम्पत्तिको लिस्ट तयार गर्ने
अदातलमा सम्बन्ध विच्छेदको निवेदन दिँदा श्रीमान श्ररीमतीले बण्डा गर्नु पर्ने सम्पत्तिको लिस्ट संयुक्त रूपमा तयार गर्नु पर्दछ । यसरी लिस्ट तयार गर्दा मौद्रिक मापनमा नआउने र खासै काममा नआउने सम्पत्तिहरूलाइ लिस्टमा नराख्न सकिन्छ ।लिस्टमा परेको सम्पत्ति मुद्दा परेपछि बेचबिखन हुने भएकोले रोक्का राख्नु पर्दछ ।
२. सम्पत्तिको मुल्यांकन गर्ने
लिस्ट तयार गरेपछि श्रीमान श्रीमतीको सहमतिमा सम्पत्तिको मूल्यांकन गर्नुपर्दछ । घरजग्गाको मुल्याङ्कन सरकारी रजिष्ट्रेशन मूल्य वा बजार मुल्यलाई आधार मानी गर्नुपर्दछ । मुल्यांकन गर्दा गाँउ र सहरको घर जग्गाको मूल्य फरक फरक हुन सक्ने भएकाले कसैलाई असर नपर्ने गरी बराबर रुपमा मूल्याङ्कन गर्नुपर्दछ ।
३. सम्पत्ति र ऋणको तार्किक मूल्यांकन गर्ने
घरजग्गाको मुल्याङ्कन र शेयरको मुल्याङ्कन गर्नुपर्दा तार्किक ढङ्गले गर्नुपर्दछ । डिभोर्स नेपालले सम्बन्ध विछेद गर्न चाहने हरुको सम्पत्ति समेत तार्किक रुपमा मुल्याङ्कन गर्न सहयोग गर्दछ । सम्पत्तिको हिसाब गर्दा दायित्व पनि कसरी बराबर बाँडफाँड गर्ने भन्ने विचार गर्नुपर्दछ । साथै ऋणको समेत बण्डा गरी सम्पत्तिको मुल्याङ्कन गर्नुपर्दछ । अदालत वा सम्बन्ध विच्छेदको करारमार्फत ऋणको जिम्मेवारी निर्रधारण गरिन्छ ।
४. सम्पत्तिको न्यायोतचित भागबण्डा अदालतले निर्धारण गर्ने
अदालतले वैवाहिक वा सगोलको सम्पत्तिको बाँडफाँड देहायका आधारमा गर्दछ।
- श्रीमानश्रीमती दुवैको आम्दानी र सम्पत्ति
- विवाह भएको कति समय भयो
- श्रीमानश्रीमती दुवैको उमेर र स्वास्थ्य
५. एकमुष्ठ रकम वा एलिमोनी रकमको माग
यदि तपाइको सम्पत्ति भागबण्डा गर्नको लागि उपयुक्त्त छैन र बण्डा गर्न मिल्दैन भने हिसाब गरेर एकमुष्ठ रकम लिंदा राम्रो हुन्छ । देवानी संहिता २०७४ को दफा ९९ ले एकमुष्ठ रकम लिन पाउने व्यवस्था गरेको छ । एकमुष्ठ रकम लिँदा सम्पत्ति र दायित्वको हिसाब गर्नुपर्दछ ।
कस्तो अवस्थामा पत्नीले अंशको दाबी गर्न पाउँदिनन्
अनलाइन समाचार र अन्य वेभसाइटले गर्दा अहिले जनतामा पत्नीले सम्बन्ध विच्छेदको माग गर्दा सम्पत्ति पाइदैन भन्ने भ्रम फैलिएको छ । देवानी संहिता २०७४ दफा ९९ को उपदफा छ अनुसार यदि पत्नीले आफ्नो पतिलाई खान लाउन नदिइ घरबाट निकाला गरेमा , पत्नीले पतिलाई अङ्ग भङ्ग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने कार्य गरेमा र पत्नीले अन्य पुरुष सँग यौन सम्पर्क राखेको प्रमाणित भएमा पत्नीलाई अंश दिनु पर्दैन भन्ने कानूनी व्यवस्था रहेको छ । यसरी महिला दोषी भएमा पनि महिलालाई सम्पत्ति दिनु पर्दैन ।