Menu
X
image

प्रायः सोधिने प्रश्नहरू

This post is also available in: English

१. सम्बन्ध विच्छेदको प्रक्रिया कसरी सुरू गर्ने?

डिभोर्स गर्ने बारेमा सोच्दै हुनुहुन्छ भने सबै भन्दा पहिला पतिको र पतिको परिवारको नाममा कति सम्पत्ति छ सबैको लिस्ट तयार गर्नुपर्दछ । यदि बच्चा साथमा छ भने बच्चाको जिम्मा पालन पोषण कसले, कसरी गर्नेमा सोच्नु पर्ने हुन्छ । यस्तै  बसोबास गर्दै आएको घर नछोड्दा उत्तम हुन्छ ।

२. सम्बन्ध विच्छेदमा छुटाउन नहुने विषयहरू के के हुन?

सम्बन्ध विच्छेदमा  पक्षको अवस्था अनुसार मुद्दामा जोड दिनुपर्ने विषय पनि फरक फरक हुन्छन् ।  जस्तै अंश,सम्पत्ति, बच्चाको पालनपोषण आदि । पति सम्पन्न र  हाइ प्रोफाइलको  छ भने सम्पत्ति महत्वपूर्ण हुन्छ । यदि पतिको सम्पत्ति छैन र दुबै बीच  बच्चा पनि छ भने बच्चाको पालन पोषणको विषय बढी महत्वपूर्ण हुन्छ । पतिले सम्पत्ति दिन इन्कार गरी,  जालसाजी गरी अंश नलिएपनि अंश लिएको कागज बनाउन पनि सक्छन  । यस्तो अवस्थामा जालसाजी गरेको विषय महत्वपूर्ण  हुन्छ ।
the share. In this case, the issue of forgery is important.

३.आपसी सहमतिमा हुने सम्बन्ध विच्छेद भनेको के हो?

आपसी सहमतिमा हुने सम्बन्ध विच्छेद भनेको पति पत्नी दुइजना मिलेर सम्बन्ध विच्छेद गर्ने प्रक्रियालार्इ बुझिन्छ । यसमा सहमतिमा दुबैजना अदालतमा गर्इ  सम्बन्ध विच्छेद गर्ने गर्दछन् । दुबैजना मिलेर सम्बन्ध विच्छेद गर्दा दुर्इ दिनमा सम्बन्ध विच्छेद हुने गर्दछ ।

४. मेरो पत्नी आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न तयार छन। यस्तो अवस्थामा नेपालमा सम्बन्ध विच्छेदको प्रक्रिया पूरा गर्न कति समय लाग्छ?

यदि तपाइको पत्नी  सम्बन्ध विच्छेद गर्न राजी हुनुहुन्छ भने सम्बन्ध विच्छेदको प्रकृया लामो  हुँदैन । सामान्यतया दुर्इ दिनमा सकिन्छ ।

५. नेपालमा सम्बन्ध विच्छेद गर्ने आधार के के छन्?

विना कुनै आधार नेपालमा आपसी सहमतिमा सम्बन्ध विच्छेदको निवेदन दिन सकिन्छ । आपसी सहमति नभएको अवस्थामा पति वा पत्नीले तीन बर्षभन्दा बढी समय देखी छोडेर गएमा , घरबाट निकाला गरेमा , पति वा पत्नीले  अङभङग हुनेगरी कुटपिट गरी शारीरिक वा मानसिक यातना दिएमा, अन्त्यमा पति पत्नीले परपुरष वा परस्त्री सँग यौन सम्बन्ध राखेमा सम्बन्ध विच्छेद गर्न पाउछन् । 

६. नेपालमा आपसी सहमति विना पुरूषले कसरी सम्बन्ध विच्छेद गर्न सक्छन?

यदि पतिले पत्नीको सहमति बिना नै सम्बन्ध विच्छेद गर्न चाहन्छ भने सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्दछ । पतिले सम्बन्ध विच्छेद निवेदन दर्ता गर्दा पत्नीले मञ्जुरी विना लगातार ३ वर्ष वा सो भन्दा बढी अलग बसेको,पत्नीले खान लाउन नदिर्इ घरबाट निकालेको, शारीरिक र मानिसक यातना दिएको आदिको  प्रमाण चाहिन्छ । पतिले सम्बन्ध विच्छेदको लागि निवेदन दिएको १ बर्ष पछि मात्र  सम्बन्ध विच्छेद हुने गर्दछ ।

७. नेपालमा सम्बन्ध विच्छेदको प्रक्रियामा सम्पत्ति र ऋणको कसरी भाग लगार्इन्छ?

पत्नीले सम्बन्ध विच्छेदको माग गर्दा अदालतले पति, सासू, ससुरा सबै अंशियारको भागको सम्पत्ति बाट पतिको भाग छुट्ट्याएर दुर्इ भाग लगार्इ पत्नीको  भाग लगाइन्छ ।

८.सम्बन्ध विच्छेदको प्रक्रियामा के पति वा पत्नी दुबै अदालतमा उपस्थित हुनुपर्दछ?

आपसी सहमतिमा सम्बन्ध विच्छेदमा मात्र पति पत्नी दुबै अदालतमा उपस्थित हुनु पर्दछ । यदि अदालतको आदेश मार्फत सम्बन्ध विच्छेद गर्ने हो भने  अदालतले विपक्षी पति वा पत्नीलार्इ अदालतको तर्फबाट म्याद जारी गर्दछ । अदालतबाट जारी भएको म्याद बुझेर पनि अदालतमा अनुउपस्थित  भएमा अदालतले एकतर्फी फैसला गर्दछ ।

९. नेपालमा सरल र छिटो तरिकाले सम्बन्ध विच्छेद गर्न कसरी सकिन्छ?

नेपालमा आपसी सहमतिमा मात्र सम्बन्ध बिच्छेद छिटो र सरल तरिकाले गर्न सकिन्छ । तपाइले अंश, सम्पत्ति, बच्चाको पालनपोषणको बारेमा आपसी सहमति गरेर कानून व्यवसायीलार्इ भेटघाट गर्दा सम्बन्ध विच्छेद छिटो र सरल तरिकाले गर्न सकिन्छ ।

१०. नेपालमा अदालतमा सम्बन्ध विच्छेदको कार्यविधिमा के के हुन्छ?

अदालतमा सम्बन्ध विच्छेद गर्दा निम्न ४ चरण पार गर्नुपर्दछ ।
पहिलो चरणमा सम्बन्ध विच्छेदको निवेदन दिनुपर्छ ।  निवेदनका आधा।रमा अदालतबाट विपक्षी पति वा पत्नीलार्इ म्याद जारी हुन्छ ।
दोस्रो चरणमा प्रमाण बुझ्ने काम हुन्छ । सम्बन्ध विच्छेदको प्रमाणमा साक्षीको बकपत्र गर्ने र सम्बन्ध विच्छेदको निवेदनसाथ पेस भएको कागज जाँच गर्ने विषयहरू पर्दछन्  ।
तेस्रो चरणमा मध्यस्थमार्फत पति पत्नी बीच छलफल गराइ मिलापत्रमा गराउने कार्य पर्दछ ।
अन्तिम चरणमा अदालतबाट सम्बन्ध विच्छेदको फैसला हुन्छ ।

११. के नेपालमा छुट्टिएर बस्नु सम्बन्ध विच्छेदको एक आधार हो?

पति पत्नी एक अर्काको सहमति नलिर्इ लगातार तीन वर्ष वा सो भन्दा बढी छुट्टाछुट्टै बसेको अवस्थामा सम्बन्ध विच्छेदको  निवेदन दिन सकिन्छ । विदेश पढ्न गएको, काम वा जागीरको सिलसिलामा छुट्टै बसेको अवस्थालार्इ छुट्टिएर बसेको भनेर सम्बन्ध विच्छेदको आधार बनाउन सकिदैंन ।

१२. नेपालमा  पतिलार्इ सम्बन्ध विच्छेद गर्न किन धेरै गाह्रो छ?

 नेपालमा पुरूषले सम्बन्ध विच्छेदको निवेदन दिँदा अदालतमा पत्नीले मञ्जुरी नलिर्इ तीन वर्ष वा सो भन्दा बढी समय देखि अलग बसेको,  पतिलार्इ घर बाट निकाला गरेको ,पतिलार्इ शारीरिक वा मानसिक यातना दिएको  भन्ने प्रमाण पेश गर्नुपर्दछ । अदालतले सकेसम्म मेलमिलाप मार्फत सम्बन्ध कायम गराउन खोज्छ । मेलमिलाप हुन नसकेमा एक वर्ष पछि मात्र सम्बन्ध विच्छेद हुन्छ । पतिले सम्बन्ध विच्छेद गर्न चाहेको अवस्थामा अनुभवी डिर्भोस लयर राख्नु पर्दछ ।

१३. नेपालमा सामान्यतया सम्बन्ध विच्छेदको लागि कति समय लाग्छ?

नेपालमा सम्बन्ध विच्छेद मुद्दामा यदि दुबैको आपसी सहमति भएमा दुर्इ दिनमा कार्य सम्पन्न हुन्छ । यदि सहमति नभएमा अदालतले १ बर्षसम्म मिलापत्र गर्न जोड दिएर १ बर्ष पछि अदालतको फैसला मार्फत  सम्बन्ध विच्छेद गर्दछ ।

१४. नेपालमा सम्बन्ध विच्छेद गरिसकेपछि कसरी अविवाहित रहेको स्थिति बनाउन सकिन्छ?

सम्बन्ध विच्छेद गरे पछि पुन: दोस्रो विवाह गर्नको लागि अविवाहित भएको सिफारिस चाहिन्छ । अविवाहितको सिफारिस सम्बन्धित गाउँपालिका वा नगरपालिका वा वडा कार्यालयबाट बनाउनु  पर्दछ। सम्बन्धित वडा कार्यालयबाट सिफारिस बनाउँदा सम्बन्ध बिच्छेद भएको फैसला वडा कार्यालयमा पेश गर्नुपर्दछ ।

१५. सम्बन्ध विच्छेदको निवेदन दर्ता पश्चात के देश बाहिर जान सकिन्छ?

आफ्नो पक्षलार्इ अदालतले बोलाएको बेला उपस्थित हुने लगायतका आवश्यक अधिकार सहित अधिकृत वारेसनामा दिएर बाहिर जान सकिन्छ । अधिकृत वारिसले सम्बन्ध बिच्छेदको मुद्दा अगाडि बढाउन सक्नुहुन्छ ।

१६. के सम्बन्ध विच्छेदमा विवाह दर्ता अनिवार्य छ?

सम्बन्ध  विच्छेद गर्नको लागि विवाह दर्ता अनिवार्य छैन । विवाह सामाजिक परम्परा अनुसार पनि हुने हुँदा विवाह भएको फोटो समेत राखेर सम्बन्ध विच्छेदको निवेदन दिन सकिन्छ ।

१७. सम्बन्ध विच्छेद  गर्ने कानून व्यवसायीले कति सम्म शुल्क लिने गर्दछन?

डिभोर्स लयरको शुल्क ठाँउ अनुसार फरक हुने गर्दछ । यसको एउटै दर निर्धारण भएको पनि हुँदैन । वास्तवमा व्यक्तिले कस्तो कानून व्यवसायी लिएको छ त्यसमा  भर पर्दछ । सामान्यतया दश हजार बाट यस्तो शुल्क शुरू हुन्छ ।

१८. सम्बन्ध विच्छेद प्रक्रियामा कसरी खर्च कम गर्न सकिन्छ?

सम्बन्ध विच्छेदको प्रक्रियामा आफै वारिस बस्ने,वकिललार्इ मुद्दा लेख्न लगाउने र अन्तिम बहस गर्न लगाउँदा  खर्च कम गर्न सकिन्छ ।

१९.सम्बन्ध विच्छेदमा मध्यस्थता भनेको के हो?

सम्बन्ध विच्छेद मुद्दामा यदि आपसी सहमति मार्फत सम्बन्ध विच्छेद हुन नसकेमा अदालतले पति पत्नीलाइ मेलमिलाप कक्षमा पठाउछ । मेलमिलाप कक्षले मध्यस्थकर्ता मार्फत दुबैजनालार्इ मेलमिलाप गर्न पहल गर्दछ ।

२०.सम्बन्ध विच्छेदमा मध्यस्थकर्ता कतिबेला सहयोगी हुनसक्छन?

यदि सम्बन्ध विच्छेदमा सहमति जनाएपनि सम्पत्ति,अंश र बच्चा पालन पोषणको बिषयमा कुरा नमिलेकोमा मध्यस्थकर्ताले सहयोग गर्न सक्छन् ।

२१. सम्बन्ध विच्छेदमा मध्यस्थकर्ता मार्फत कसरी पैसा बचत गर्न सकिन्छ?

सम्बन्ध विच्छेदको मुद्दा लामो समय सम्म चलिरहँदा तपाइको धेरै पैसा खर्च हुन सक्छ । यदि मध्यस्थकर्ताले दुबै पक्षलार्इ  सहमतिमा ल्याउन सकेमा  उक्त पैसा जोगिन्छ ।

https://www.youtube.com/watch?v=CBO11Ke8MAY&t=168s

सम्बन्धित पृष्ठहरू

© Copyright 2021 Divorce Nepal. All rights reserved. Developed By: HexxaSoft P. Ltd.